काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारको टुंगो लाग्न झन्डै दुई साता लाग्नेछ । संवैधानिक प्रक्रियाअनुसार ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे वा संसदको सामना गरे सरकार गठनको प्रक्रियाका लागि कम्तीमा १० दिन लाग्नेछ ।
प्रधानमन्त्रीबाट ओलीको राजीनामा आए राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्न सक्छन् भने सहमति नजुटे मात्र संसदले बहुमतीय प्रक्रिया थाल्नेछ । विगतको परम्परा हेर्ने हो भने राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि कम्तीमा साता दिनको समय दिने र नभए मात्र बहुमतीय प्रक्रिया थाल्न संसदलाई आग्रह गर्ने छन् ।
दुवै प्रक्रिया पूरा गर्न कम्तीमा १० दिन सयम लाग्नेछ । प्रधानमन्त्रीले संसदको सामना गर्ने भए अविश्वासको प्रस्ताव परिपक्व हुन नै सात दिन लाग्नेछ । त्यसपछि मात्र संसदले प्रक्रिया अघि बढाउने भएकाले सरकारको टुंगो लाग्न कम्तीमा १० दिन लाग्नेछ ।
कांग्रेस नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको बताए । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निधिले बताए । ‘प्रधानमन्त्रीले अब नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्छ’ उनले भने । आजको नागरिक दैनिकमा खबर छ ।