काठमाडौं । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ।
हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ। आफूखुसी भर्ना गरिएका त्यस्ता कर्मचारीलाई तलब खुवाउन मात्रै वार्षिक पाँच अर्ब ५६ करोड खर्च हुने गरेको अर्थले जनाएको छ। मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशक, निर्देशक, आयोग, नियोगका पदाधिकारी, उच्च कर्मचारी तथा अन्य कार्यालय प्रमुखले करार नीतिको ठाडो उल्लंघन गर्दै हजारौं व्यक्तिलाई सरकारी सेवामा भर्ना गर्ने गरेको पाइएको हो।
उनीहरूले अहिले पनि तजबिजीमा कम्प्युटर अप्रेटर, सवारी चालक, कार्यालय सहयोगीलगायत पदमा धमाधम कर्मचारी भर्ना गरिरहेका छन्। हाल ३२ हजारको संख्यामा रहेका त्यस्ता कर्मचारी अझै बढ्न सक्ने अर्थ मन्त्रालयको आकलन छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक स्थिति समेटेर शुक्रबार जारी गर्नुभएको श्वेतपत्रमा पनि निजामती सेवाका कार्यालय प्रमुख तथा उच्च अधिकारीले सेवा करार नीतिको व्यापक उल्लंघन गर्दै अनावश्यक कर्मचारी राख्ने गरेको उल्लेख गरेका छन्।
‘निजामती सेवामा नियमितबाहेक कार्यका लागि व्यवस्था गरिएको सेवा करार नीतिको व्यापक उल्लंघन भएको छ’, खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै भनेका छन्। आजको अन्नपूर्णमा खबर छ ।