काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिने कार्यक्रम सार्वजनिक गरेको छ । मन्त्रालयले अाज पर्यटन बोर्डमा कार्यक्रम गरि सरकार गठन भएको १ सय दिन भित्र सम्पादित हुने प्रमुख कार्यहरु सार्वजनिक गरेको हो ।
मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार, राष्ट्रिय गौरबका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन, भुकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण,नीतिगत तथा कानूनी सुधार र कार्य पद्धतिमा सुधार लगायत कार्यहरु सम्पन्न गर्ने गरि कामको प्राथमिकता निर्धारण गरेको छ । ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निमाणमा देखिएको विवाद समाधान गरि पोखरी भित्र रहेको यमलेश्वर मन्दिरको पुर्ननिर्माण सय दिन भित्र सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा देखिएको विमान उड्ने र अवतरणमा देखिएको समस्या न्यूनिकरणका लागि आवश्यक व्यवस्था मिलाई कम्तिमा दैनिक २१ घण्टा संञ्चालन गर्ने , आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूली चौरको साथै अन्य संभाव्य स्थानको अध्ययन गर्ने लगायत विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मन्त्रालयभित्र व्यापक छलफल पछि सार्वजनिक गरिएकाले सबै कार्यक्रमहरु सय दिन भित्र सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । सय दिन भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी तय गर्नुको साथै सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनी (एलएमडब्लु)संगको दायित्व व्यवस्थापन गर्ने योजना मन्त्रालयले अघि सारेको छ ।
संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण, अभिलेखको डिजिटाईजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन, पर्यटकीय तथ्यांक अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, , पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण, हवाई उद्योग व्यवस्थापन , प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार र नेपाल बायूसेवा निगमको सुदृढीकरणका १८ वटा मुलभुत विषयलाई मन्त्रालयले एक सय दिन भित्र सम्पन्न गर्ने कार्ययोजनामा समावेश गरेको छ ।
कार्यक्रम कार्यान्वयन प्रभावकारीताका लागि विभिन्न विभाग एवं निकायहरुबाट सम्पादन हुने कामको अनुगमन मन्त्रालयको सम्बन्धित महाशाखाबाट र मन्त्रालयका महाशाखाहरुबाट हुने कामको अनुगमन सचिवस्तरबाट गरिने व्यवस्था मिलाईएको छ ।