काठमाडौं – नेपालसँगको २० वर्षको सहयात्रामा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं साँस्कृतिक संगठन (युनेस्को) ले यहाँको शैक्षिक उन्नयन तथा साँस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
युनेस्को र नेपालबिचको दुई दशकको साझेदारीको अवसर पारेर युनेस्कोका प्रतिनिधि क्रिष्टियन म्यानहार्टले बुधबार बेलुका आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालका अनमोल साँस्कृतिक सम्पदाको संरक्षण तथा खोजीमा युनेस्कोले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
उनले भूकम्पबाट क्षतविक्षत ऐतिहासिक सम्पदाको पुनर्स्थापना तथा पुनर्निर्माणमा युनेस्कोबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै पत्रकारिताको व्यावसायिक विकास तथा सामुदायिक सञ्चारको विस्तारमा उक्त संस्थाले गरेको योगदान अविष्मरणीय रहेको बताए ।
संयुक्त राष्ट्र संघका आवासीय समन्वयकर्ता भ्यालेरी जुलियान्डले युनेस्कोले स्थापनाकालदेखि नै नेपालमा शान्ति प्रक्रिया, शिक्षा, विज्ञान तथा प्रविधिका साथै प्रेस स्वतन्त्रताको रक्षा र सञ्चार क्षेत्रको विकासमा सघाएको बताउँदै त्यस्तो सहयोग भविष्यमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गरे ।