चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२÷७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।
हालसम्मकै सबैभन्दा बढी आव २०७१÷७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।
अर्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपालमा भएको शान्ति र राजनीतिक स्थायित्वको सन्देश पुगेकै कारण क्रमशः पर्यटक बढ्दै गएको बताउनुभयो ।
Facebook Comments Box