काठमाडौं । यस वर्षको बाढिबाट अतिप्रभावित तराईका सात जिल्लामा संचालन गरिएको ‘बाढिपीडित सहयोग कार्यक्रम’ समापन गरिएको छ ।
बाढि अतिप्रभावित जिल्लामा संयुक्त राष्ट्र संघ र चीन सरकारको सहयोगमा संचालित ‘बाढिपीडित सहयोग कार्यक्रम’ आज काठमाडौमा एक कार्यक्रमबीच समापन गरिएको हो । कार्यक्रममा नेपालका लागि चीनका राजदुत यू होङले बाढिबाट अति प्रभावित जिल्लामा राहतका लागि सहयोग कार्यक्रम संचालन गरिएको बताउनु भयो । उहाँले एक असल छिमेकको नाताले नेपाली जनताको पीडालाई सम्बोधन गर्न चीन सरकारले बाढिपीडित राहत कार्यक्रममा सहयोग गरेको पनि स्मरण गराउनु भयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय निर्देशक रेनउ मेयरले विपदमा परेका नेपालका अति प्रभावित क्षेत्रका जनतालाई मानवीय सहयोग गरिएको बताउनु भयो । कार्यक्रमबाट बाढि प्रभावित तराईका ७ जिल्लाका ८ सय घर परिवार लाभान्वित भएका थिए । यस वर्षको वर्षायाममा बाढिबाट तराईका जिल्लामा १ सय ३४ जनाको ज्यान गएको थियो भने झण्डै १५ लाख बासिन्दा प्रभावित भएको थिए ।