विर्तामोड । पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा आगामी वैशाख १ गतेदेखि दोस्रो चौंरी महोत्सव हुने भएको छ। गत वर्षबाट आयोजना गर्न थालिएको महोत्सवले यो वर्ष पनि निरन्तरता पाउने भएको हो।
इलामदेखि ताप्लेजुङसम्म जोडिएको फालोट क्षेत्र चौंरी पालनमा प्रसिद्ध छ। यहाँ ५०० भन्दा बढी चौँरी पालन गरिँदै आएको छ । दर्जनौँ परिवार चौँरी पालनमा संलग्न छन्।

हिमालको शोभा मानिने चौँरी र हिमाली क्षेत्रमा पाइने लोपोन्मुख जडिबुटीको संरक्षण र प्रवर्द्धनका लागि चौंरी महोत्सव आयोजना गर्न थालिएको आयोजक फालेलुङ–कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन समितिले जनाएको छ।
जैविक विविधताको संरक्षण, चौँरी चरन क्षेत्रको दीगो व्यवस्थापन मार्फत् स्थानीय रोजगारीको सिर्जना, उच्च पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनमा महोत्सवबाट सन्देश प्रवाह गर्ने आयोजकको लक्ष्य छ।
पूर्वी पहाडका इलाम र ताप्लेजुङ तथा भारत र भुटानबाट समेत महोत्सवमा चौँरी ल्याइने आयोजकले जनाएको छ ।

महोत्सवमा ५०० भन्दा बढी चौँरीको प्रदर्शनी, याक राइडिङ, चौँरीजन्य उत्पादनहरुको प्रदर्शनी तथा बिक्री स्टल राखिने आयोजक संस्थाका अध्यक्ष डिल्लीहाङ केरुङले जानकारी दिए।
नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेको उक्त स्थानमा यो वर्ष १० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष केरुङले बताए।
२३ लाख रुपैयाँको लागतमा सम्पन्न हुने अनुमान गरिएको महोत्सवमा नेपालसहित भारत र भुटानबाट समेत पर्यटक भित्र्याउने तयारीसहित प्रचार–प्रसार थालिएको छ।

दुई दिनसम्म चल्ने महोत्सव वैशाख १ गते उद्घाटन हुनेछ । नेपालका उच्च भू–भागमा पालिँदै आएका चौँरीका विभिन्न उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनसमेत महोत्सवले सघाउ पुर्याउने सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवीप्रसाद न्यौपानले वताए ।