काठमाडौँ । यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ ।
पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।
चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो ।
विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत विभागमा निवेदन प्राप्त भएको देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ ।
सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो ।