काठमाडौँ । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ ।
कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि मंगलबारदेखि कार्यालय अगाडिको चक्रपथ सडकमै उक्त काम गर्न शुरु गरेको हो । यातायात कार्यालय अवस्थित आनन्दनगर टोलसुधार समितिले प्रदूषण जाँचका क्रममा निस्कने धुवाँले बस्तीको वातावरण दूषित भएको र सवारी साधनले सडक जाम भएको भन्दै अन्त सार्न माग गरेपछि कार्यालय परिसरबाट जाँच गर्ने काम सारिएको कार्यालयका नायब सुब्बा काजीबहादुर गिरीले बताउनुभयो ।
प्रदूषण जाँचका लागि थप जग्गा भाडामा लिन कार्यालयले यातायात व्यवस्था विभागमा माग गरे पनि विभागले बजेटको कमी देखाउँदै टार्दै आएको कार्यालयले जनाएको छ ।
कार्यालयमा हाल दैनिक करीब १०० निजी सवारी साधनको उपकरणमार्फत प्रदूषणको मात्रा जाँच गरिन्छ । निजी सवारी साधन भएकाले जाँचमा लगभग सबै सफल हुने गरेको यातायात कार्यालयले जनाएको छ । जाँचपछि कार्यालयले रु ३५ लिएर सबै सवारी साधनलाई हरियो स्टिकर दिने गरेको छ ।