झापा । सगरमाथा प्रदूषण नियन्त्रण समितिले सगरमाथा क्षेत्रबाट यस वर्ष हालसम्म १ लाख किलोग्राम नजल्ने खालको फोहाेर संकलन गरेको छ । उक्त फोहोरलाई शनिवारदेखि काठमाडौं ल्याउन सुरु गरिएको छ ।
सगरमाथा क्षेत्रमा दैनिक उडान गर्दै आएको तारा एयर र यती एयरलाइन्सले ती फोहोर काठमाडौं ओसार्न लागिएको हो । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार नाम्चे बजारबाट सबैभन्दा बढी फोहर संकलन भएको छ । नाम्चे बजारबाट मात्रै ५० हजार किलो नजल्ने फोहर संकलन भएको छ ।
समितिले २५ क्षेत्रमा रहेका यस्ता संकलन केन्द्रबाट लुक्ला विमानस्थलसम्म ल्याएको छ । उक्त फोहोरलाई यती एयरलाइन्सले काठमाडौंसम्म ल्याउने छ ।
सन् २००८ देखि सगरमाथा क्षेत्रमा संकलित फोहरलाई काठमाडौं ल्याउन समितिलाई एती एयरलाइन्सले सहयोग गर्दै आएको छ । कार्बन उत्सर्जन नियन्त्रणका लागि एती एयरलाइन्सले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालसँग साझेदारी गर्दै आएको छ ।