झापा । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।
यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायले निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ ।
विश्व सम्पदा सूचीमा परेको निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिँदै आएका थिए ।
आगामी आर्थिक वर्षमा डिपिआरको काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जान सकिने छ । पूर्व पश्चिम रेलमार्ग ९४५ किलोमिटर लामो हुने बताउँदै उपाध्यायले चुरे पहाडमा भने सुरुङ मार्ग निर्माण गरिने जानकारी दिनुभयो ।