काठमाण्डाैं । सरकारले एक हप्ता भित्र सबै स्थानीय तहमा आगामी आर्थिक वर्षको अनुमानित बजेट विनियोजना गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा एक हप्ता भित्र आगामी आर्थिक वर्षको अनुमानित बजेट पठाउने जानकारी गराउनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सबै स्थानीय तहमा सरकारले वित्तीय हस्तान्तरणको माध्यामबाट पठाउने अनुमानित बजेटको काममा लागि परेको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री खतिवडाले तत्कालका लागि अनुमानित बजेटमा सामान्य बजेट र राजस्व बाँडफाँडबाट आउने बजेटको अनुमानित अंक उल्लेख हुने पनि स्मरण गराउनु भयो । सरकारले स्थानीय तहमा वित्तिय हस्तान्तरणको माध्यामबाट बजेट पठाउने संवैधानिक व्यवस्था छ । मन्त्री खतिवडाले स्थानीय तहलाई सशर्त र विशेष अनुदानको पनि व्यवस्था केन्द्रिय सरकारले गर्ने योजना पनि सुनाउनु भयो ।
अर्थमन्त्री खतिवडाले नयाँ संविधानले थप गरेको अधिकारलाई अवसरको रुपमा लिँदै काम गर्न पनि सबै नगरपालिकाहरुलाई निर्देशन दिनु भयो । उहाँले सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको पनि स्पष्ट पार्नु भयो ।