काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताउनुभएको छ ।
गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख र प्रहरी प्रमुख सम्मिलित अन्तरक्रियामा गृहमन्त्रीले कानुनमा रहेको थोरै जरिवानाका कारण अटेरी गर्ने प्रवृत्ति बढिरहेकाले जरिवाना बढाइने बताउनुभयो ।
केही ठेकेदारले एकातिर समयमा काम सम्पन्न नगर्ने र अर्कातिर सम्पन्न गरेका काम पनि कमसल हुने गरेकाले यस्ता काम गर्नेमाथि अब कारवाहीे केन्द्रित गरिने उहाँको भनाइ थियो ।
गृहमन्त्री थापाले सडक र पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टचार र अनियमितता जोडिएको छ भन्दै त्यसको छानविन गरिने बताउनुभयो ।