काठमाडौं । ब्रेन ट्युमरबाट पीडित पहल ठकुल्लाको उपचार सहयोगका लागि भनेर संकलन गरिएको रकम नेप्लिज टिन्सले आज गृहमन्त्री मार्फत पीडित परिवारलाई हस्तान्तरण गरेको छ।
कैलाली जिल्ला जानकी गाउपालिकाका बर्ष २१ का ठकुल्ला बिगत ६ महिना यता ब्रेन ट्युमरबाट पीडित छन्। उपचार अभावका कारण मृत्यु शैयामा पुगेका ठकुल्ला विभिन्न संघसंस्थाको पहलमा उपचारकै क्रममा छन्।
यस अघि नै सो समुहले पहिलो चरणमा ठकुल्लालाई अप्रेशनका लागि रु ५० हजार सहयोग गरिसकेको थियो।
गृहमन्त्रालयमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा माननीय गृहमन्त्री राम बहादुर थापा बादल, गृहमन्त्रीका स्वकीय सचिव, नेप्लिज टिन्स प्रमुख संरक्षक राजन श्रेष्ठ, गृहमन्त्रालयका सचिवालय प्रमुख, नेप्लिज टिन्स संस्थापक सचिव प्रमोद ढकाल, पत्रकार बिष्णु प्रसाद लामिछाने, नेप्लिज टिन्सका अन्तर्राष्ट्रिय सल्लाहकार प्रविन धिताल लगायत मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा माननीय गृहमन्त्रीको हातबाट पीडितलाई रु ५५ हजारको चेक हस्तान्तरण गरिएको थियो।
रकम हस्तान्तरण गर्दै गृहमन्त्री बादलले लागू औषध नियन्त्रण र युवा परिचालन सम्बन्धी विशेष कार्यक्रम ल्याउने मन्त्रालयले तयारी गरिरहेको र नेप्लिज टिन्सलाई पनि त्यस्मा सहयोगी भूमिका खेल्न अनुरोध गरेका थिए।
त्यस्तै ब्रेन ट्युमर लगायत केही जटिल रोगका बिरामीहरुका उपचारका लागि सरकारले आवश्यक पहल चाल्ने पनि बताएका थिए।
नेप्लिज टिन्स युवाहरुको सन्जाल हो। जसले पछिल्ला केही बर्ष यता देशका विभिन्न क्षेत्रमा हुने सामाजिक समस्याहरुको निराकरणमा सहयोग गर्नुका साथै किशोर किशोरीलाई सामाजिक दायित्व बोध गराउने कार्यमा सकृय हुँदै आएको छ।