कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५ की २० वर्षीय राधा चौधरीमाथि भएको कुटपिटको घटनामा संलग्नलाइ पक्राउ गरि सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलाली बिहीबार पत्रकार सम्मलेन गरी बोक्सी आरोपमा अमानवीय कार्य गर्ने ६ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले घटनाको मुख्य अभियुक्त भोलेबाबा भनिने रामवहादुर चौधरी, उनकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ बस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ वर्षीया चनकला चौधरी र ४१ वर्षीय सितारानी चौधरीलाई सार्वजनिक गरेको हो ।
यस्तै घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका ४ जनालाई पनि सार्वजनिक गरिएको छ । उनीहरु चारैजना नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका घोडाघोडी नपा वडा नं १ बस्ने ४० वर्षीय कमल क्षेत्री, घोडोघोडी नगरपालिका ९ का ३६ वर्षीय भरत शाह, धनगढी उपमहानगर ८ का पूर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का हृदयराज बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।