काठमाडौं । आजदेखि पशुपतिनाथ मन्दीरमा पशुपतिनाथ महोत्सव हुँदै छ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सवको आयोजना गरिएको हो ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त महोत्सवबाट धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । महोत्सवका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ ।
महोत्सवमा श्रीमद् भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्तिसंगीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । आजदेखि सुरु हुने महोत्सव चैत ७ गतेसम्म चल्ने छ ।