झापा । झापाकाे विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलेकाे छ।
आफ्नै पसलमा राखेका ‘बाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको उनले हत्या गरेको खुलेकाे छ। गत फागुन २० गतेदेखि बेपत्ता भएका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा पुर्याएर हत्या गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराएको छ।
घटनामा संलग्न ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक देवसहित विर्तामोड–८ त्रिवेणी टोलका दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा– ८ का चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाँका र संगठित अपराधअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनु भयाे।
पक्राउ परेका ओली ऋद्धिसिद्धि ज्वेलर्समा ‘बाउन्सर’का रुपमा कार्यरत रहेको बताइएको छ। घटनामा संलग्न अन्य व्यक्ति पनि रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ।