काठमाडौँ । युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले आजदेखि आफ्नो काम शुरु गरेको छ ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले युएस विमान दुर्घटना सम्बन्धमा दुर्घटना जाँच आयोगले आजैदेखि अनुसन्धानको काम शुरु गरेको जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव आचार्यले आयोगको काम शुरु भएको र मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइले बताउनुभयो ।
बंगलादेश–काठमाडौँ नियमित उडानमा रहेको युएस बंगाल एयरलाइन्सको उडान नं. ग्द्यन् द्दज्ञज्ञ ९म्ज्डम् वायुयान) अवतरणका क्रममा अपराह्न १४ः१८ मा विमानस्थलको पूर्वपट्टि रहेको मैदानमा दुर्घटनाग्रस्त भएको थियो ।
गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा विमान दुर्घटनामा परी ५१ जना यात्रुको मृत्यु भएको जानकारी दिनुभएको थियो । तर उक्त तथ्यांक नमिलेको भन्दै नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले भने जहाज दुर्घटनामा ४९ जनाको मात्रै मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपचारार्थ घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म प्राप्त विवरणअनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्राण्डी अस्पतालमा चार तथा मेडिसिटी, ओम र न्यूरो अस्पतालमा एक एक जना उपचारार्थ रहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।