काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।
बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु बोकेर काठमाडौं आइरहेको ७२ सिट क्षमताको ‘डास-८ बम्बार्डियर’ त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटना भएको हो । विमानमा पाइलट, को-पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए । यो त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना हो । यसअघि टर्किस एयरको जहाज अवतरण क्रममा दुर्घटनाग्रस्त भए पनि मानवीय क्षति भएको थिएन ।
टर्किस र विमान बंगला दुवै जहाज अवतरण क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटनामा परेका हुन् । विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक रहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । चालक दलका सबै सदस्य बंगलादेशी नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक सञ्जीव गौतमले बताए । यात्रुमध्ये ३७ पुरुष, २८ महिला र दुई बालबालिका हुन् । आजको अन्नपूर्णमा खबर छ ।