काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदलाई टेलीफोन गरी युएस –बांग्ला एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाउने बंगलादेशी नागरिकहरु प्रति समवेदना ब्यक्त गर्नुभएको छ ।
विमान दुर्घटनापछि विमानस्थल पुगेर स्थलगत निरिक्षण गर्नु भएका प्रधानमन्त्री ओलीले त्यसपछि आफ्ना बंगलादेशी समकक्षीलाई टेलिफोन गर्नुभएको हो ।
‘दुःखद विमान दुर्घटनामा हाम्रा दुई देशका धेरै नागरिकले ज्यान गुमाउनु भएको छ । महामहिममार्फत सम्पूर्ण पीडित परिवारजनमा समवेदना प्रकट गर्दछु , यो दुःखको घडीमा म तपाईंहरुको साथमा छु’ टेलीफोनमा ओलीले भन्नुभयो ।
आफूले तत्काल दुर्घटनाको छानविन गर्न समिति बनाउने पनि ओलीले बंगलादेशका प्रधानमन्त्रीलाई बताउनु भएको छ । टेलिफनेज संवादमा प्रधानमन्त्रीले उद्धार कार्यमा नेपाल सरकारको तर्फवाट सक्दो प्रयास भैरहेको उल्लेख गर्नुभएको थियो ।
जवाफमा बंगलादेशी प्रधानमन्त्रीले नेपाली नागरिकहरुको निधन भएकोमा ओलीसँग दुःख ब्यक्त गर्दै समवेदना प्रकट गर्नु भएको थियो । विमान दुर्घटनामा हालसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको छ भने २१ जना घाइतेको उपचार भैरहेको छ ।