काठमाण्डौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।
दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ ।
एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना अझै भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् । अस्पताल र्पुयाइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ ।
उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ । केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ । अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ ।
विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी रहेका छन् ।
उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको थियो । ति मध्ये केहिको अवस्था चिन्ताजनक रहेको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरीएको थियो ।
विमानमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकल र अग्नि नियन्त्रकहरुले नियन्त्रणमा लिएका थिए ।