काठमाडौ,फागुन २७ । आगामी असोजदेखि नेपालमा पुनः रेल कुद्ने भएको छ ।
करीव चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पछि भारत सरकारले पुनः नेपाली भूमिमा रेल कुदाउने तयारी थालेको छ । न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिलेलाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ । पछि ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जनाएको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किमिखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ । यस खण्डमा आगामी असोजसम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिनु भयो ।
उहाँका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाउँदै छ । यसमध्ये २०७५ को असोजसम्ममा ३५ किमि पूर्ण रूपमा तयार हुनेछ । बाँकी ३५ किमिका लागि भने नेपाली भूमितर्फ जग्गा अधिग्रहणकै काम बाँकी छ । यो खण्ड तयार हुन समय लाग्ने भएकाले असोजसम्ममा रेल दौडाउन मिल्ने गरी तयार हुने ३५ किमि रेलमार्ग रेल कुदाउने गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको रेल विभागले जानकारी दिएको छ ।
भारतले निर्माण गरिरहेको ७० किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा र ६७ किमि नेपाली भूमिमा पर्छ । नेपालले भाडामा लिने वा भारतीय रेललाई नै नेपालसम्म कुदाउने भन्ने विषयमा नयाँ मन्त्री आएपछि औपचारिक निर्णय हुने पनि प्रवक्ता उपाध्यायले जानकारी दिनु भयो । तयारी मार्गमा रेल भने पक्कै दौडने उपाध्यायको दाबी छ ।
नेपाल सरकारले चालू आव २०७४÷०७५ मा रेलमार्ग बनाउन विनियोजन गरेको चार अर्ब रुपैयाँ विनियोजन गरेकामा यस रकमको पहिलो प्राथमिकता पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको पूर्वी खण्डको ३० किलोमिटर रेलमार्गमा परेको छ ।
उक्त रकममध्ये विभागले हाल एक अर्ब रुपैयाँ खर्चिसकेको छ । यस्तो रकमबाट भारतले निर्माण गरिरहकेको सिमानासँग जोड्ने गरी महोत्तरीको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किलोमिटर रेलमार्ग निर्माण ८० प्रतिशत सकिएको छ । यो मार्गमा हाल ट्रयाक बेड निर्माण गर्ने काम सम्पन्न भइसकेको छ । यो रेलमार्ग पनि चालू आवमा सक्ने गरी काम भइरहेको विभागले जानकारी दिएको छ । यो मार्ग पूरा भएपछि राष्ट्रिय गौरबका आयोजनाको सूचीमा रहेको पूर्वपश्चिम रेलमार्ग (९४५ किमि) को एउटा खण्ड तयार हुनेछ ।
जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किमिखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ । चालू आवको बजेटबाटै विभागले बर्दिवासदेखि काँकडभिट्टासम्मको २४७ किमि रेलमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ । बुटवल–गड्डाचौकी (४२१ किमि) रेलमार्गको डीपीआर बनाउने काम पनि हालसम्ममा ३० प्रतिशत सकिएको छ ।
विभागले काठमाडौं–वीरगन्ज विद्युतीय रेलमार्गको पनि डीपीआर बनाउन परामर्शदाता छनोट गर्ने काम गरिरहेको छ । विभागले चालू आवमा विनियोजित बजेटमध्ये अर्धवार्षिक समीक्षा अवधिसम्ममा चार अर्बको ३६ प्रतिशत अर्थात् एक अर्ब ४४ करोड रकम खर्चिको उल्लेख छ ।
रेल विभागका अनुसार पूर्व खण्डको बर्दिवासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्म डीपीआरको काम पनि अगाडि बढाएको छ । पश्चिम खण्डको बुटवल–लमही, लमही—कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकीसम्मको डीपीआर बनाउने काम पनि अगाडि बढाएको जानकारी दिएको छ ।
रेल विभागले पूर्वपश्चिम रेलमार्गको काम विभिन्न सिमानाबाट भारतसँग जोडेर अगाडि बढाइरहेको छ । सम्भाव्यता अध्ययन पूरा भएको १३६ किलोमिटरको बर्दिवास–सिमरा–वीरगन्ज खण्ड पनि हो । यो खण्डमा भारतको रक्सौल हुँदै वीरगन्जबाट सिमरासम्म भारतीय रेल ल्याउने गरी काम भइरहेको छ ।