काठमाडाैं । सर्वोच्च अदालतले द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी मैना सुनार प्रकरणमा नेपाली सेनाका तर्फबाट प्राड (कानुन) विभागले दर्ता गरेको मुद्दामा जिल्ला अदालत र नेपाली सेनासँग दोस्रो पटक फाइल मगाएको छ । सुनार प्रकरण पहिलो पटक सेनाले सरकार विरुद्ध सर्वोच्चमा हालेको मुद्दामा फाइल नआएपछि दोस्रो पटक आदेश गरेको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले पुन फाइल मगाउने आदेश गरेको हो । यसअघि न्यायाधीशद्वय चोलेन्द्र शमसेर राणा र टंकबहादुर मोक्तानको इजलासले जिल्ला अदालतका फैसला, नेपाली सेना र सैनिक अदालतले गरेका कारबाही सम्बन्धी निर्णयहरुको फाइल मगाउने आदेश गरेको थियो । आफ्ना अवकाश प्राप्त तीन जना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग गर्दै सर्वोच्च अदालतमा प्राड विभागले भदौ १६ गते रिट दायर गरेको थियो ।
नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कटवाललाई वारेस राख्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा जन्मकैद अर्थात् २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।