काठमाडौं । भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।
एमालेसम्बद्ध युवा संघ रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारी र देवदहकै फर्निचर व्यवसायी वसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका पुनको अपराध शृंखला काठमाडौंका निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्यासम्म जोडिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले पुन प्रहरी मुठभेडमा मारिएको दाबी गरेका छन् तर उनका तर्फबाट कति राउन्ड गोली प्रहार भयो, प्रहरीमाथि पुनले कुन प्रकारले आक्रमण गर्यो भन्नेबारे प्रहरी अनुत्तरित छ। पुनको खोजतलासमा जुटेका प्रहरी भन्छन्, ‘हामीमाथि फायर गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा पुन ढलेका हुन्।’
यसअघि दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे र प्रवीण खत्री प्रहरीकै शब्दमा दोहोरो मुठभेडमा मारिएका हुन्। चरी र घैंटेको मृत्युको विषयलाई लिएर एमाले र कांग्रेसका नेताले ‘फेक इन्काउन्टर’ को संज्ञा दिएका थिए। एमाले नेता राजेन्द्र पाण्डेले त संसद्मै घटना छानबिन हुनुपर्ने माग गरेका थिए तर छानबिन भएन। घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसीले पनि फेक इन्कान्उटर नै रहेको दाबी गरेका थिए। कांग्रेस नेता गगन थापाले पनि घैंटेको पक्षमा बोल्दै प्रहरी ज्यादती बढेको आरोप लगाएका थिए।
ललितपुर कुसुन्तीका प्रवीण खत्री पनि प्रहरी मुठभेडमै मारिएको दाबी गरियो तर स्थानीयले प्रहरीले कानुन हातमा लिएर खत्रीको हत्या गरेको भन्दै विरोध गरेका थिए। चरी, घैंटे र पुनभन्दा खत्री फरक पृष्ठभूमिका व्यक्ति हुन्। अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।