काठमाडौँ । नेपालमा धेरै भाषा र वेषभूषा भए पनि उक्त भाषाको यथोचित संरक्षण हुन नसकेको चिन्ता व्यक्त गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा विश्व मातृभाषा दिवसका अवसरमा आज आयोजना गरिएको ‘मातृभाषा विचार गोष्ठी–२०७४’ का वक्ताले प्रविधिको प्रयोग र बसाइँसराइका कारण मातृभाषाको प्रयोगमा कमी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालमा धेरै मातृभाषा भए पनि क्रमशः लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि विद्यालयदेखि मातृभाषामा शिक्षा दिनुपर्ने बताउनुभयो ।
भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले मातृभाषा स्थापित भयो भने राष्ट्रिय भाषा र अंग्रेजी भाषाको अस्तित्व समाप्त हुन्छ, भन्ने डरले मातृभाषालाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । भाषाप्रति फैलिँदै गएको भ्रमलाई मेटाउनु अहिलेको मुख्य चुनौती भएको उहाँको भनाइ थियो ।