काठमाण्डाैं । सरकारले पहिलो पटक दीगो विकास लक्ष्य हासिल गर्ने मार्गचित्र तयार पारेको छ ।
१५ वर्ष भित्र दीगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्रसंघको घोषणा कार्यान्वयन गर्न सरकारले नेपालको मौलिक पहिचानसहितको मार्ग चित्र तयार पारेको हो । नेपालको आफ्नै मौलिक पहिचान झल्कने गरी दिगो विकास लक्ष्य हासिल गर्ने मार्ग चित्र तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्ले जानकारी दिनु भयो ।
आयोगले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मार्गचित्रमा नेपालको विकास, त्यसका लागि आवश्यक लगानी र त्यसलाई कार्यान्वयनमा लैजाने संघ, संस्थाहरुको सम्भाव्यता अध्ययन गर्नुपर्ने विषयलाई जोड दिइएको छ । नेपालको आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रको दिगो विकास गरेर मात्रै दीगो विकास लक्ष्य हासिल गर्न सकिने अवधारणा मार्गचित्रमा उल्लेख गरिएको पनि उपाध्यक्ष डा. वाग्लेले स्पष्ट पार्नु भयो ।
मार्गचित्रमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालका हालसम्म पनि तथ्यांक संकलनको कामले निरन्तरता पाउन नसकेको उल्लेख गर्दै त्यसमा केन्द्रित हुन राज्यका सबै अंग परिचालन गर्ने निष्कर्ष निकालिएको छ । जनसंख्याको समेत एकीन विवरण नहुनु भनेको दीगो विकास लक्ष्य हासिल गर्न चुनौति नै भएको कुरा पनि मार्गचित्रमा समावेश गरिएको छ । राज्यका सबै निकायलाई परिचालन गरेर दीगो विकास लक्ष्य हासिल गर्ने योजना बनाइएको पनि उपाध्यक्ष वाग्लेले जानकारी दिनु भयो ।
संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्य हासिल गर्नका लागि १७ वटा मूल लक्ष्यहरु निर्धारण गरेको छ । सोही लक्ष्य हासिल गर्न नेपालले मौलिक खालको मार्च चित्र तयार पारेको उपाध्यक्ष वाग्लेले बताउनु भयो । मार्गचित्रमा दीगो विकास लक्ष्य हासिल गर्न नेपालमा संरचनागत र नीतिगत परिवर्तन गर्नुपर्ने आवश्यक्तामा पनि जोड दिइएको छ ।