भद्रपुर । चन्द्रगढी विमानस्थल भद्रपुरमा आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि शनिबार गरिएको परीक्षण उडान सफल भएको नागरिक उड्डयन प्राधिकरण भद्रपुर विमानस्थल कार्यालयले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुँडालका अनुसार शनिवार गरिएको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका अधिकारी तथा बुद्ध एयरका कर्मचारी सहभागी थिए। बुद्ध एयरको जहाजबाट परीक्षण उडान गरिएको थियो।
आइएफआर प्रविधिका लागि सबै उपकरणहरु जडान भइसकेको तर केही प्राविधिक काम अझै बाँकी रहेकाले तीन महिनाभित्र नियमित आइएफआर प्रविधिबाट जहाज अवतरण गराइने चुँडालले जानकारी दिए।
चुँडालले भने, ‘केही काम बाँकी छन्। ति काम सकेर तीन महिनाभित्र हामी आइएफआर प्रविधिबाट जहाजलाई नियमित अवतरण गराउँछौं ।’
अहिलेसम्म चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गर्थ्यो। जस्का लागि पाँच किलोमिटरको भिजिविलिटी आवश्यक हुने चुँडालले बताए। तर आइएफआर प्रविधिबाट जहाज अवतरण हुन थालेपछि १६ सय मिटरको भिजिविलिटीमा पनि जहाज अवतरण हुनसक्ने उनको भनाइ छ।
जाडो मौसममा बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएका कारण पटक पटक विमानस्थल बन्द हुने गरेकाले यात्रुले सास्ती खेप्नुपर्ने बाध्यताका माझ उक्त प्रविधि शुरु गर्न लागिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। यो जाडो मौसममा मात्र १२ दिन विमानस्थल बन्द भएको बताइएको छ। काठमाडौंबाट नियमित कम्तीमा ८ वटा उडान हुने गरेको चुँडालले बताए।