काठमाडौं । सडक सुरक्षा नीतिको अभावमा सन् २०२० सम्ममा सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारको लक्ष्य पूरा नहुने सरोकारवालाले बताएका छन् ।
ललितपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी नेपाल ईन्जिनियर्स एशोसिएसनले सडक सुरक्षा नीतिको अभावमा आगामी २ वर्षभित्र सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारी लक्ष्य पूरा नहुने दाबी गरेको हो ।
सडक सुरक्षा नीति नहुँदा नेपालमा निर्माण भएका सडकहरु सुरक्षित हुन नसकेको तथा वर्षेनी सडक दुर्घटना बढ्दै गएको ईन्जिनियर्स एशोसिएसनको भनाई छ । सडक सुरक्षालाई प्राथमिकतामा राख्न एशोसिएसनको आग्रह छ ।
एशोसिएसनले सडक प्रयोगकर्ता, सवारी साधन लगायतको सुरक्षाको लागि सडक सुरक्षा नीति संसदबाट पारित गर्न सरकारसंग माग गरेको छ । सो नीति कार्यान्वयनमा आए सडक सुरक्षाको प्रत्याभूति बढ्ने भन्दै एशोसिएसनका अध्यक्ष ईन्जिनियर हरेराम श्रेष्ठले सडक सुरक्षा परिषद गठन गर्न सरकारसँग माग गर्नुभयो ।
सडक सुरक्षाबारे जनचेतनामा वृद्धि गर्न जरुरी रहेको तर्क गर्दै श्रेष्ठले बढ्दो दुर्घटना न्युनिकरणका लागि विद्यालय स्तरबाट सडक सुरक्षा सम्बन्धी शिक्षा दिन आवश्यक भएको बताउनुभयो ।
सडक सुरक्षा समितिका अध्यक्ष लक्ष्मण केसीले सडकको क्षमता अनुसार सवारी सञ्चालन गर्नुपर्ने भएपनि यस तर्फ सरकारको ध्यान जान नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा सडक सुरक्षा विज्ञ सुवास ढुंगेलले सडक सुरक्षा बारे मानिसहरुमा चेतनाको अभाव र सडक अनुशासन पालना नगर्ने प्रवृतिका कारण सडक दुर्घटना बढ्ने गरेको बताउनुभयो । आजको कान्तिपुरमा खबर छ ।