विर्तामोड । भ्यालेन्टाइन डे-का दिन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले कस्लाई गुलाबको दिन्छन्, सबैमा कौतुहल थियो।
झापाको विर्तामोडको हनुमान कम्प्लेक्समा प्रणय दिवस मनाउँदै तयारी हुँदै थियो। कार्यक्रम शुरु हुन केही समय बाँकी थियो। तन्नेरीहरु हनुमान सेन्द्रलको प्रवेशद्वारमा रातो फूलले पानको पात आकार दिइएको स्थानमा फोटो खिच्न तल्लिन थिए।

भित्र कार्यक्रम शुरु भयो। कार्यक्रम उद्घोषक रंगकर्मी माधव कल्पितले उद्घाटन गर्न विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई आग्रह गर्दै भने, ‘कार्यक्रम उद्घाटनमा यहाँ राखिएको गुलाबको फूल उहाँले आफूले इच्छाएको महिलालाई दिनुपर्छ।’
केहीबेर त्यहाँ उपस्थित मान्छेले मुखामुख गरे।

उनकी श्रीमती सीता मञ्चमै थिइन्। तर धेरै मान्छेले उनलाई चिनेका थिएनन्। भट्टराईले सीताको नाम लिए। त्यतिन्जेल पनि उनलाई भट्टराईकै श्रीमती हुन् भनेर धेरैलाई थाह थिएन। भट्टराईले भने, ‘मेरो हरेक पाइलामा साथमा दिने सीताजीलाई यो फूल ग्रहण गरिदिन आग्रह गर्दछु।’
यो प्रेम साट्ने एउटा प्रतिक थियो। भट्टराई आफ्नी श्रीमतीलाई फूल दिँदै भने, ‘खास प्रेम शुरु हुन्छ। घरमा प्रेम भयो भने मानिस जिन्दगी सबल बन्छ।’

‘भ्यालेन्टाइन डे’ को दिन हनुमान सेन्ट्रलका व्यापारीहरुले उक्त सेन्ट्रललाई निकै राम्ररी सिँगारेर धेरैको ध्यान तानेका थिए।
उक्त कार्यक्रमा केही सांगीतिक प्रस्तुती समेत गरिएका थिए। तरुनी तन्नेरीहरु झुम्मिरहेका थिए।