बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाबाट सोमबारदेखि साप्ताहिक अखबार ‘बुद्धशान्ति’ को प्रकाशन शुरु भएको छ। अखबारको बिमोचन बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल तथा उपाध्यक्ष मिरा भूर्तेलले संयुक्त रुपमा गरे।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष भुजेलले उक्त साप्ताहिक अखबारले पत्रकारित मूल्य मान्यतालाई आत्मसात गर्दै काम गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय मुद्दाहरुलाई विशेष प्राथमिक्ता आग्रह गरे।
भुजेलले भने, ‘हप्ताभरि गाउँपालिकाले गरेका कामहरु अखबारले स्थान देओस्। राम्रा तथा सुधार गर्नुपर्ने कामलाई अखबारले लखिदेओस्। हामीलाई पनि सुधार गर्ने मौका मिल्नेछ।’
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलले गाउँपालिकाले सक्दो सहयोग गर्ने बचन दिइन्। उनले भनिन्, ‘स्थानीय सरकारले गरेका कामहरुले अब स्थान पाउनेछ भन्नेमा हामी आशावादी छौं।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले अब सञ्चार माध्यम टिकाउनु छ भने स्थानीय मुद्दाहरुलाई उजागर गर्नुपर्नेमा जोड दिए।
स्थानीय धेरै मुद्दाहरु राष्ट्रिय सञ्चार माध्यममा अटाउन नसक्ने भन्दै स्थानीय विकास निर्माण, घटनाक्रम तथा स्थानीय विविध विषयलाई समेट्नका लागि अखबार प्रकाशन शुरु गरिएको अखबारका सम्पादक उमाकान्त खनालले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक गणेश निरौलाले अखबारको निरन्तरताको कामना गरे। केशव खुलालले स्वागत मन्तव्य राखेको विमोचन कार्यक्रम अखबारका प्रकाशक सुनिल भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो।