जयपुर । बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरमा रहेको जगदीश्वर शिव पाञ्चायन मन्दिरको अक्षय कोष स्थापनाको मूल उद्धेश्य राखि यही फागुन ६ गतेदेखि श्रीमद भागवत महापुराणको आयोजना गरिने भएको छ ।
पुराण आयोजक समितिका संयोजक पुष्पराज न्यौपानेका अनुसार उक्त मन्दिरको प्राण प्रतिष्ठा फागुन ५ गते गरिनेछ । ६ गतेबाट शुरु भएको महापुराण भने फागुन १२ गते समापन हुने न्यौपानेले जानकारी दिए । महापुराणमा पाँच हजार एकसय रुपैयाँ भन्दा बढीको दाताहरुको सहयोगलाई अक्षय कोषमा राखिने उनले बताए । न्यौपानेले भने, ‘करीब पाँच लाखको अक्षय कोषको स्थापना गर्ने हामीले सोच बनाएका छौं ।’
पुराण आयोजक समितिका सचिव रामचन्द्र पौडेलका अनुसार उक्त महापुराण सूचना प्रविधियुक्त हुनेछ । कथावाचक विभिन्न धार्मिक तीर्थस्थलहरुको कुरा गर्दा त्यही तीर्थस्थलहरु सूचना प्रविधिका उपकरणहरु प्रयोग गरेर देखाइने पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले यो नौलो प्रयोग गर्ने सोच बनाएका छौं । सबै मान्छे पर्दामा देखाइएका तीर्थस्थलसम्म पुग्ने हैसियत राख्दैनन् । त्यसैले पर्दामा भए पनि देखाउने हाम्रो कोशिस हुनेछ ।’
हाल मन्दिर रहेको स्थानको छेउमा रहेकी एकजना स्थानीयबासीलाई सपनामा आफू अंकित शिलाको रुप र स्थान भगवतीले देखाई दिएका कारण उक्त स्थानमा मन्दिर बनाइएको पौडेलले बताए । उक्त मन्दिरका लागि आफ्ना स्वर्गीय पतिको सम्झनामा स्थानीयबासी कृष्णकुमारी पौडेलले दुई कठ्ठा जग्गा उपलब्ध गराइदिएकी हुन् । गाउँलेहरुको व्यापक उत्साह र सहभागितामा उक्त स्थानमा जगदीश्वर शिव पाञ्चायन मन्दिर स्थापना भएको छ । उक्त मन्दिरको उद्घाटन आगामी फागुन हुने मन्दिर समितिले जनाएको छ ।
महापुराणबाट करीब २० लाख रुपैयाँ दाताहरुबाट संकलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका संयोजक न्यौपानेको भनाइ छ । पुराणमा ८ लाख रुपैयाँ खर्च हुनसक्ने अनुमान उनले गरे । उक्त पुराणको प्रमुख वाचकमा पं. छन्दुराम भण्डारी र उपवाचकमा पं. होमनाथ खतिवडा रहनेछन् । महापुराणबाट उठ्ने रकमबाट अक्षयकोष स्थापनाका साथै मन्दिरको भूमि विस्तार, बृद्धबृद्धा भेटघाटस्थल र विविध कार्यमा उपयोगी सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।