काठमाण्डाैं । सर्वोच्च अदालतले नेपाल परिवार नियोजन संघको निर्वाचित केन्द्रीय समितिलाई विघटन गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिएपछि संघभित्र नेतृत्वको विषयलाई लिएर विवाद श्रृजना भएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर कार्यालय पुगेका निर्वाचित केन्द्रीय समितिका पदाधिकारी आज कार्यालय परिसर प्रवेश गर्न नपाएपछि संघ भित्रको विवाद उत्कर्षमा पुगेको हो ।
सर्वोच्च अदालतको आदेश लिएर संघ पुगेकी अध्यक्ष अमु सिंह सिजापति तालाबन्दीका कारण कार्यालय प्रवेश गर्न सक्नुभएन ।
संघकी कार्यकारी निर्देशक महिमा शाह मल्ल मध्यान्हमा नै कार्यालयका सम्पुर्ण कर्मचारी निकालेर ताला लगाई हिडेपछि पुर्नवहालीको आदेश पाएको केन्द्रीय समितिका सदस्य कार्यलय प्रवेश गर्न नपाएका हुन् ।
कार्यालय प्रवेश गर्न नपाएपछि परिसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष सिजापति तदर्थ समितिका अध्यक्ष गिरीले ४८ घण्टा भित्र साधारण सदस्यता सम्बन्धमा आफु माथि लागेको मुद्धा फिर्ता लिने निर्णय गरेको, सिसि क्यामेरा बन्द गराएको लगायत आरोप लगाउनुभयो ।
अध्यक्ष सिजापतिले कर्मचारी लगायत प्रशासनिक जिम्मेवारी बोकेकी कार्यकारी निर्देशकले कार्यालय समयमै गरिएको तालाबन्दीको जवाफ दिनुपर्ने बताउनुभयो ।