काठमाण्डाैँ । सरकारले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई आवास निर्माणका लागि प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत्र मसान्तसम्म पुर्याउने निर्णय गरेको हो ।
दोस्रो किस्ताको रकम चैत्र मसान्तसम्म लिन सक्ने निर्णय लिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिनु भयो ।
बैठकमा प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुननिर्माणको काम सन्तोषजनक ढंगले अघि बढेको भन्दै यही आर्थिक वर्ष भित्र ५० प्रतिशत काम सम्पन्न भईसक्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
बैठकले तेस्रो किस्ताको रकम यही आर्थिक वर्ष भित्र वितरण गरिसक्ने योजना पनि बनाएको छ ।
निजी आवास निर्माणको काम यही आर्थिक वर्ष भित्र सक्ने गरी काम अघि बढाउने समयसीमा समेत तोकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले बताउनु भयो ।
बैठकमा प्रमुख प्रतिपक्ष एमालेले भने समितिको निर्णय विनानै भूकम्प पीडितलाई आवास निर्माणका लागि सरकारले १ लाख अनुदान रकम थप गर्ने निर्णय लिएको भन्दै आपत्ति जनाएको थियो ।
प्राधिकरणका अनुसार हालसम्म दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या २ लाख ३३ हजार ६ सय ७७ पुगेको छ ।
प्राधिकरणको अनुदान लाभग्राहीको सूचिमा ७ लाख ६७ हजार ७ सय ५ जना भूकम्प पीडित छन ।
त्यसमा ५ लाख ८४ हजार ४ सय ६८ लाभग्राहीसँग अनुदान सम्झौता गरिएको पनि प्राधिकरणले जनाएको छ ।