काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको भन्दा कम मागका कारण हिउँदयाममा विद्युतको आपूर्ती सहज भएको जनाएको छ ।
प्राधिकरणले ३ सय ३० मेगावाट अपुग हुने अनुमान गरिएको भएतापनि २ सय ८० मेगावाट मात्रै अपुग भएको र केही औद्योगिक क्षेत्रमा लोडसेडिङ गरी त्यसलाई समेत सहजै व्यवस्थापन गरिएको प्राधिकरणका विद्युत व्यापार विभाग प्रमुख एवं प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।
हाल मुलुकभर १३ सय ८० मेगावाट विद्युतको माग रहेको छ । जसमध्ये २ सय ८० देखि ३०० को हाराहारीमा मात्रै अपुग छ ।
फागुनको अन्त्यसम्ममा हिउँ पग्लने क्रम सुरु हुने र नदीमा पानीको बहाव समेत बढ्ने भएकाले विद्युत आपूर्तीमा कुनै समस्या नहुने अधिकारीको भनाइ छ ।
सर्वसाधारणमा पछिल्लो समय बढ्दै गएको चेतनाले विद्युतीय सामाग्रीको प्रयोग घटेकोले पनि हिउँदमा माग कम भएको हुनसक्ने अधिकारीले बताउनुभयो ।