काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दोका प्रशिक्षक घम बहादुर थापा मगर अमेरिकामा सम्मानित भएका छन् । उनलाई मास्टर हल अफ फेम अमेरिकाले हल अफ फेम अवार्ड र सम्मानपत्रद्धारा सम्मान गरेको छ । उनी दुई महिनाअघि मात्र अवार्डका लागि मनोनयनमा परेका थिए ।
नेपालमा मार्सल आर्ट खेल विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै उनी गत १८ जुनमा अमेरिकाको ओआयोमा सम्मानित भएका थिए । तर उनी नेपालमै कार्यव्यस्ताले सम्मानमा पुगेका थिएनन् । सम्मान अवार्ड आयोजक समितिले नेपाल आइटिएफ तेक्वान्दो तथा नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका सस्थापक अध्यक्ष कृष्णबहादुर बलाललाई थापा मगरको प्रतिनिधि तोकिएको थियो । सोमबार अमेरिकाको बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीमा पूर्व अध्यक्ष बलाल र तेक्वान्दो मास्टर कुमार कार्कीले थापामगरलाई अवार्ड प्रदान गरे ।
नेपालमा मार्सल आर्ट खेल विकासमा योगदान पुर्याउन एक व्यक्तिलाई हरेक वर्ष हल अफ फेम अमेरिकाले सम्मान गर्ने गरेको छ । तेक्वान्दो प्रशिक्षक थापा मगर एक दशकदेखि आइटिएफ तेक्वान्दो खेलमा सक्रिय छन् । उनी ढोरपाटन स्पोट्र्स क्लब लगायत विभिन्न क्लबमा आबद्ध छन् । गत महिना पनि उनी अष्ट्रेलियामा सम्मानित भएका थिए ।