विर्तामोड । सन् २०१८ का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् ।
वीरता जेसीजको ३८ औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
सन् २००४ मा वीरता जेसीजको सदस्यको रुपमा जेसीज यात्रा शुरु गरेका गिरीले यसअघि कार्यसमितिका सम्पूर्ण पदमा आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवारहरु विशाल थापा, प्रकाश सुवेदी, दिवाकर प्रसाईं र राजीव धिमालले सहमति, सहकार्य र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।
दुईदशकदेखि पत्रकारितामा क्रियाशील वीरता जेसीजका अध्यक्षमा चयन भएका गिरी पत्रकार महासंघ झापाको उपाध्यक्ष समेत हुन् । उनी पूर्वाञ्चल दैनिकको सम्पादक र रेडियो नेपालको झापा समाचारदाताका रुपमा कार्यरत् छन् ।
जेसीजको दुई जना कार्यकारिणी उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेकाले सो पदमा समेत सर्वसम्मतको प्रयास भइरहेको निर्वाचन अधिकृत सजेश शिवाकोटीले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षहरुमा सञ्जीव घिमिरे, युवराज कुँवर, पवन न्यौपाने र अशोक चौधरी सर्वसम्मत चयन भएका छन् । संयुक्त सचिवमा प्रवेश बस्नेत, जनसम्पर्क अधिकारीमा कुशल खतिवडा र तालिम संयोजकमा विकास बस्नेत सर्वसम्मत चयन भएका छन् ।