काठमाडाैं । महिला अधिकारकर्मीहरुले बलात्कार एवम् यौनजन्य हिंसाका घटनाका दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन ।
महिला अधिकारकर्मीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग सामूहिक भेटगरी देशका विभिन्न भागमा महिलामाथि भईरहेका बलात्कार तथा यौनजन्य हिंसाका दोषीलाई पक्राउ गरी कार्वाही गर्न प्रहरी प्रशासन तत्पर नदेखिएको भन्दै आपत्ति पनि जनाएका छन ।
महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा गर्नेमाथि कडाभन्दा कडा कार्वाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको महिला सुरक्षा दवाव समूहकी अध्यक्ष सावित्री थापाले जानकारी दिनु भयो । उहाँले महिलालाई सुरक्षा दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु परेको पनि उल्लेख गर्नु भयो ।
महिला अधिकारीकर्मीहरुले ललितपुरमा ३ महिना अघि सामूहिक बलात्कार गरेको आरोप पक्राउ परेकालाई पनि अदालतले साधारण तारेकमा छाडिदिएकोमा पनि आपत्ति जनाएका छन ।
राजधानीको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कार, ललितपुर र पूर्वको इटहरीलगायतका देशका विभिन्न भागमा बलात्कारको घटना बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न महिला अधिकारीकर्मीहरुले प्रधानमन्त्री देउवालाई उहाँकै सरकारी निवास बालुवाटार पुगेर आग्रह गरेका हुन ।