काठमाणडाै । दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामिण विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव एक अरव नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
आज अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सीकबीच दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव १ अरव नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारी पत्रमा लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गराउनु भयो । उहाँले परियोजनालाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
नेपालका लागि दक्षिण कोरियाका राजदुत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भईरहेको बताउनु भयो ।
८ वर्षे यो परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास हुने विश्वास लिइएको छ । दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आईरहेको छ ।