काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ ।
समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ । यस्ता तथ्य फरक परी चाड पर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ ।
यस वर्ष समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले सुनाउनुभयो ।
समितिले स्वीकृति दिएसँगै पञ्चाङ्ग प्रकाशनको क्रम पनि शुरु भएको छ । फागुन पहिलो सातासम्म १३ वटै पञ्चाङ्ग निस्किसक्नेछन् ।
विवाह, व्रतबन्ध, शिलान्यासलगायत साइतका लागि पनि मानिसले पञ्चाङ्गको खोजी गरिरहेका हुन्छन् ।