काँकरभिट्टा । नेपालका पहाडी जिल्लाहरुमा उत्पादित अदुवा आइतबार साँझसम्म पनि भारत निर्यात हुन सकेको छैन। दुई दिन अघि नेपाली अदुवा भारत निकासी खुल्यो भनेर वाणिज्य मन्त्रालयका अधिकारीहरुले भनिरहँदा आइतबार साँझसम्म पनि नेपाली अदुवा भारत जान नसकेको नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार खड्काले बताए।
आइतबार भारत लैजानका लागि ६ ट्रक अदुवा मेची भन्सार कार्यालय काँकरभिट्टाको परिसरमा राखिएको थियो। तर अदुवा लोड गरेका ट्रक भन्सार कार्यालयबाट फिर्ता आएको खड्काले बताए।
भारतले माटोसहितको अदुवामा पटक पटक रोक लगाएको थियो। अहिले नेपाली क्वारेन्टाइनले नै माटो भएको अदुवालाई भारत लैजान रोक लगाएको छ। तर प्रशोधित अदुवा पनि अहिले भारत निकासी हुन नसकेको खड्काले जानकारी दिए ।
भारतीय व्यापारीहरुले भारतीय सरकारले तोकेको मापदण्ड पूरा नगरेकाले अहिले नेपाली अदुवा भारत जान नसकेको हो।