काठमाण्डौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।
माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।
श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ ।
स्थानीय बासिन्दाले एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।
यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ ।
सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।