सुरुंगा । झापाको कनकाई नगरपालिका–१ मा रहेको जामुनखाडी सिमसार क्षेत्र पूर्वी क्षेत्रको आन्तरिक पर्यटनको मुख्य गन्तव्य बनेको छ। २०५२ सालमा स्थापना भएको ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वनअन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यो सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइएको हो।

राजमार्गदेखि उत्तरमा रहेको यो जामुनबारी अहिले पूर्वकै आर्कषक पर्यटकीय गन्तव्य स्थल बनेको छ। लोपोन्मुख वन्यजन्तुहरू यहाँका प्रमुख आकर्षण हुन्।
विभिन्न प्रजातिका वन्यजन्तुहरू संरक्षण गरेर राखिएको छ । ‘हामीले चिडियाखाना चलाएका होइनौं । असुरक्षित वन्यजन्तुको संरक्षण गरेका हौं’ वन उपभोक्ता समितिका अध्यक्ष ख्याम सिटौला भन्छन्, ‘तर पर्यटकको आकर्षण वन्यजन्तुमा छ।’

शुरुमा वार्षिक ८ लाख रुपैयाँ आम्दानी गरेको यो सिमसारले अहिले दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ। अर्थिक वर्ष २०७३र७४ मा उपभोक्ता समितिले पर्यटकबाट दुई करोड ३५ लाख रुपैयाँ संकलन गरेको थियो।

४ जना कर्मचारी राखेर शुरु गरिएको यो पर्यटकीय स्थलमा अहिले २० जनाले स्थायी रोजगारी पाएका छन्। यो वन उपभोक्ता समितिले विभिन्न क्षेत्रमा उकृष्ट बन्दै राष्ट्रिय स्तरको पुरस्कार समेत हात पारेको छ।

सामुदायिक वन क्षेत्रमा योगदान पुर्यामएको भन्दै २०७२ सालमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार दिइएको थियो। २०७३ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले समितिलाई प्राकृतिक संरक्षण पुरस्कार प्रदान गरेको थियो।