भद्रपुर । जनताको घरदैलोमा सेवा पुर्याउने भन्दै स्थानीय तहलाई बलियो बनाइएको भनिइरहेका बेला बल्ल तल्ल विकासमा बामे सर्दै गरेको झापाको सदरमुकाम चन्द्रगढी सुनसान हुन थालेको छ।
अहिले केही सदरमुकाम केन्द्रित सरकारी कार्यालयहरुका काम स्थानीय तहबाटै हुन थालेपछि मानिसहरुको आवतजावत कम हुँदा व्यवसाय कम भएका कारण सदरमुकामबासीलाई जन जीविकाको चिन्ताले पिरोल्न थालेको छ।
झापाको सदरमुकाम चन्द्रगढी चोकमा होटल गरेर बसिरहेकी संगीता कोइरालालाई व्यापार कम हुन थालेपछि अचेलका दिन विरक्त लाग्दो हुन थालेको छ।
झापाका १५ वटा स्थानीय तह कार्यान्वयनमा आएपछि सदरमुकामका धेरै कार्यालयका काम गाउँपालिका तथा नगरपालिकाहरुबाट प्रदान हुन थालेपछि चन्द्रगढी सुनसान छ।
कोइरालाको अनुभवमा स्थानीय तह कार्यान्वयनमा आएपछि चन्द्रगढीको व्यापार करीब आधा घटेको छ। उनले भनिन्, ‘पहिला भन्दा त ५० प्रतिशत नै व्यापार घटेको छ। अब त झन् सुनसान हुने कुरा सुन्दैछु। व्यापार नै नहोला जस्तो लाग्दैछ।’
शिक्षा, कृषि, पशुसेवा, स्वास्थ्य लगायतका कार्यालयका काम स्थानीय तहबाटै हुन थालेपछि धेरैले अचेल सदरमुकाम ‘बेहुली अन्माएको घरजस्तो’भएको बताउन थालेका छन्।
तर सदरमुकामको रौनक हराए पनि सर्वसाधारणले घर पायक सेवा पाएको कुरा महत्वपूर्ण भएको भद्रपुर नगरपालिका ८ का वडाध्यक्ष मनोज सुब्बाको भनाइ छ।
सुब्बाले भने, ‘सदरमुकाम सुनसान भए पनि नागरिकले आफ्नै घर पायक स्थानीय तहमा काम गर्न पाएका छन्। त्यो नै सन्तुष्टिको कुरा हो नि।’
त्यति मात्र होइन स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक समितिले काम गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयका इजलासमा समेत कामको भार कम हुन थालेको छ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पनि करिब २५ प्रतिशत काम हल्का भएको छ। स्थानीय तह पुरै कार्यान्वयनमा आएपछि सदुरमुकामका अझै काम त्यतै सर्छन्।’
तराईका जिल्लाका सदरमुकाम पूर्व पश्चिम राजमार्गले भेट्ने स्थानमा कमै छन्। बल्ल तल्ल भौतिक संरचनाको विकासमा बामे सर्दै गरेका सदरमुकामका व्यापार व्यवसाय घट्दै जाँदा सदरमुकामबासीलाई जीविकाको चिन्ताले पिरोल्न थालेको छ।