भद्रपुर । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११औँ किराँत महोत्सव भद्रपुरमा जारी छ ।
निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित ११ स्टल रहेका छन् ।
मेला संयोजन समितिका संयोजक जीवन सुब्बाले दिएको जानकारीअनुसार पुस २७ गतेबाट शुरु भएको महोत्सव यही माघ २९ गते समापन हुनेछ । महोत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेशभूषा, हातहतियार प्रदर्शन भइरहेको संयोजक सुब्बाले जानकारी दिनुभयो ।
भद्रपुर–८ का वडाध्यक्ष तथा किराँत कल्याण समितिका पूर्वअध्यक्ष गौरव सुब्बा (मनोज) का अनुसार सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी बन्नेछ ।
एघारौँ महोत्सवसम्म आइपुग्दा समितिले एक करोड २५ लाख खर्च गरेर तीनतले सुविधा सम्पन्न सामुदायिक भवन बनाउन सफल भएको जानकारी दिनुभयो ।