
धनगढी । प्रदेशसभा गठनले पूर्णता पाएसँगै ७ नं प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि अवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम अघि बढाइएको छ।
क्षेत्रीय प्रशासक एवं प्रदेश ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेर दिएको मन्त्रालयको नाम र संख्याबमोजिम स्थापना हुन लागेका सातवटा मन्त्रालयका लागि आवश्यक भौतिक पूर्वाधार जुटाउने काम थालिएको बताएका छन्।
प्रदेशमा हाललाई आन्तरिक मामिला, सामाजिक विकास, भौतिक पूर्वाधार, कृषि, पर्यटन, उद्योगलगायतका मन्त्रालय स्थापना गर्न लागिएको बताइएको छ। संविधानले प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्य मध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद्को गठन गर्न सक्ने व्यवस्था गरेको छ।
प्रदेश मुख्यमन्त्रीको निवास र मन्त्रालय सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीको नयाँ निर्माण गरिएको भवनमा राख्ने गरी तयारी गरिएको छ।