
काठमाण्डाैं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ ।
यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आजदेखि यो अभियान शुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ ।
गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्पलगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीनपटक गस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगेहात पक्राउ शुरु गरिएको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुयभयो ।