काठमाण्डाैं । नेपाल चिनी उद्योग संघ र नेपाल उखु उत्पादक संघले आयातित चिनीको भन्सार महशुल तत्काल ३० प्रतिशत वृद्धि गर्न सरकारसँग माग गरेका छन । काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्न पनि सरकारले भारतबाट आयातित चिनीको भन्सार महशुल ३० प्रतिशत वृद्धि गर्नैपर्ने माग गरेका हुन ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले आयातित चिनीमा भन्सार महशुल वृद्धि गर्दा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने दावी समेत गर्नु भयो ।
भारतले चिनी उद्योगको संरक्षणका लागि आयात महशुल ७५ प्रतिशत पुर्याएको दृष्टान्त पेश गर्दै उहाँले नेपालले पनि त्यसबाट पाठ सिकेर स्वदेशी चिनी उद्योगको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष अग्रवालले माग अनुसारको चिनी आपूर्ति गर्न नेपालका व्यवसायीहरु सफल रहेको दावी समेत गर्नु भयो ।
नेपालमा हाल वार्षिक २ लाख २५ मेट्रिक टन चिनी माग हुँदै आएको नेपाल चिनी उद्योग संघका तथ्यांकमा उल्लेख गरिएको छ ।