भद्रपुर । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान, घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् ।
वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् ।
भारतको आसाम राज्यबाट काँकरभिट्टास्थित मेची नदी किनारा हुँदै स–सना झुण्डका रुपमा नेपाल छिरेका १३ वटा हात्तीको झुण्डले झापाको ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिबारी जलथल, पृथ्वीनगर, बालुवाडी, केचना पथरिया घेराबारीलगायत स्थानमा घुमेर अन्नबाली तथा फलफूलमा क्षति गर्ने गरेको स्थानीयवासीको गुनासो रहेको छ ।
हात्ती समस्या समाधानका लागि सरकारी पक्षबाट सहयोग नभएको गुनासो स्थानीयवासीको रहेको छ । चुनावी नाराभित्र हात्ती नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेका विजयी उम्मेदवार तथा प्रतिस्पर्धी दलका उम्मेदवार स्थानीयवासीको समस्या हल गर्न स्थानीय समस्या ग्रस्त क्षेत्रमा नआएको पीडितको दुखेसो छ ।
तीन दशकदेखि उत्तरी झापाको प्रमुख समस्याका रुपमा रहेको हात्ती आतंक पछिल्ला तीन वर्षयता दक्षिण, पश्चिम झापाको समस्या बनेर ज्यान लिने खेल भइ रहेको छ । आव २०६७÷६८ देखि २०७३÷७४ सम्ममा २८ जना झापालीले हात्तीका कारण झापामा ज्यान गुमाइसकेका छन् भने आठवटा हात्ती पनि मान्छेका कारण मरेका छन् ।
दक्षिण झापाको हात्ती समस्या रोक्न गत भदौमा सरकारले नौ करोडको सौर्य तारवारको योजना जिल्ला वन कार्यालयमार्फत काम गर्ने गरी रकम छुट्याएको भए पनि काम शुरु नहुँदा नागरिकले सास्ती पाइरहेका छन् । जिल्ला वन कार्यालय झापाले भने हात्ती नियन्त्रणका लागि सौर्य तारवारको प्रक्रिया शुरु गरिएको जानकारी दिएको छ ।