काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालको भू–बनोटका कारण वायु, सौर्य ऊर्जाको पनि प्रचुर सम्भावना रहेको भन्दै उहाँले दिगो अर्थतन्त्रको विकासका लागि समेत साधन र स्रोतको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग गरेर मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले त्यसमा विशेष दक्षता र सुझबुझका साथ सरकार प्रस्तुत हुने राष्ट्रपति भण्डारीको विश्वास थियो ।