नुवाकोट । समयमै बजार नपाउँदा चिसोको कबारण नुवाकोटका एक किसानले पालेका एक करोडभन्दा बढीको माछा मरेका छन् ।
बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो ।
पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरे जानकारी दिनुभयो ।
उहाँका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो ।
खोलाको पानी चिसो हुँदै आएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताउनुभयो ।